प्रदेशराष्ट्रिय

केटीको विषयमा विवाद हुँदा लेकसाईडमा बालकको हत्या

पोखरा, २९ माघ । प्रहरीले पोखरा महानगरपालिका–६ लेकसाईडमा १४ वर्षिय बालकको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पाल्पा रम्वापानी गाउँपालिका घर भई लेकसाईड शान्तिनगरमा डेरा गरि बस्ने जितबहादुर सिँजालीका छोरा सचिन सिँजालीको सोमबार राती हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पर्वत मल्लाजका वर्ष २१ का बेनी काले भनिने कुमार गर्बुजालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
पक्राउ परेका गर्बुजाले घटना घटाएको स्विकार गरेको र घटनामा प्रयोग भएको चक्कु बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।

बालक सिँजालीको लेकसाईडस्थित निर्माणधीन छ तले घरको भुईतल्लामा घाँटीमा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको अवस्थामा आज विहान शव फेला परेको थियो । प्रहरीलाई घटनाको बारेमा जानकारी प्राप्त भएको र १० घण्टाभित्रमा अभियुक्त पक्राउ गरिएको रानाले बताउनुभयो ।

प्रहरीका अनुसार सोमबार साँझ घटनामा संलग्न रहेका कुमार, मोटे भनिने सुशान्त परियार, डल्ली भनिने १४ वर्षकी सुनिता गुरुङ र मृतकले सडक बालबालिका बस्ने गरेको घटनास्थलमा सँगै रक्सी खाएको र सचिनले सुनितासँग बिवाहको कुरा गरेपछि आफ्नो केटीसाथीसँग त्यस्तो कुरा गरेपछि कुमारलाई जलन भएको बताईन्छ ।

राती १०ः३० बजेतिर सुनिता गएपछि कुमार र मृतककाबीचमा रक्सी खाँदै गर्दा पुन केटीका विषयमा बादविवाद भएको र सचिनले कुमारलाई चक्कुले खुट्टामा प्रहार गरेपछि कुमारले सोही चक्कुले मृतक सचिनलाई घाँटी, पेट र ढाडमा प्रहार गरि फरार भएको प्रहरीको भनाई छ ।
घटनापछि कुमारले ट्याक्सी रिजर्व गरी पृथ्वीचोक शान्तिवनमा गएको र चक्कु ढुँगाले छोपी लुकाएर पुन ट्याक्सीमा घटनास्थलमा फर्केका थिए । सचिनलाई मृत देखेपछि बाहिर सडकमा निस्केर ट्याक्सी रोकी प्रहरीलाई खबर गर्न लगाएका थिए ।

प्रहरी घटनास्थलमा पुग्दा शंका लागेर कुमारलाई नियन्त्रणमा लिएको र पछि उसले घटना स्विकार गरेको वडा प्रहरी कार्यालय वैदामका प्रहरी उपरीक्षक नविन कार्कीले बताउनुभयो ।सँगै बसेर मदिरा सेवन गरेका तीनै जनालाई पक्राउ गरिएको र घटनामा प्रयोग गरिएको चक्कु समेत बरामद भएको भनाई प्रहरीको छ । कुमार बाहेक अरुको घटनामा संलग्नता नदेखिएको र उनीहरु साक्षीमात्र रहेको भनाई प्रहरी उपरीक्षक कार्कीको छ ।

घटनामा संलग्नहरु घटनास्थलमा ओहोरदोहोर गरेको दृश्य बैदाम प्रहरीको सिसी क्यामेरामा पनि कैद भएको प्रहरीले जनाएको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close